श्रावण १४ । भक्तपुरका विभिन्न शक्ति पिठहरुमा आज विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात गठेमंगल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।
नेवार समुदायले आज बिहानै घरघरमा लिपपोत गरि शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएकाले मन्दिरमा भीड लागेको हो ।
नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठेमंगललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने प्रचलन रहेको छ । आज कै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गर्ने गरिन्छ । त्यसको साथै गाइजात्रामा प्रदर्शन गरिने भैरव लगायतका बिभिन्न नाच तथा व्यंग्यात्मक नाटकको प्रशिक्षणसमेत आजबाट सुरु गरिन्छ ।