
काठमाडौं,१७ फागुन ।
नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । मतदानको आधारमा टुंगो लगाउन नसकिएपछि वार्ताको आधारमा उनलाई जिल्ला सभापतिमा चयन गरिएको हो ।
तीनजना सभापति पदका उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि पुनः दोस्रो चरणमा मतदान हुने भनिएको थियो । तर, कांग्रेस नेताहरूको छलफल र वार्ताले लामालाई सभापति बनाउने सहमति जुटाएको हो ।
सभापतिमा मत परिणामको आधारमा लामा पहिलो, आनन्दराम पराजुली दोस्रो र जयराम लामिछानेले तेस्रो स्थान हासिल गरेका थिए । १ हजार ७ सय ७५ मत खसेको थियो । पहिलो चरणमा लामाले ५ सय ९२ र पराजुलीले ५ सय ४५ मत प्राप्त गरे ।
तेस्रो स्थान हुने लामिछानेले ५ सय ३१ मत पाए । जसमध्ये १ सय ७ मत बदर भएको थियो । मतदान सोमबार साँझ नै सकिए पनि ५१ प्रतिशत नपुगेकोले मंगलबार पुनः मतदान गरिने बताइएको थियो ।
लामिछानेको सबैभन्दा कम मत प्राप्त भएको कारण दोस्रो चरणको निर्वाचनबाट लामिछाने बाहिरिए । लामिछाने बाहिरिएपछि दोस्रो चरणमा पराजुली र लामाबीच प्रतिस्पर्धा रहने बताइएको थियो ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँबीच भएको सहमतिअनुसार लामालाई सभापति बनाउनका लागि सहमति जुटेको हो । सहमति अनुसार पराजुलीलाई आगामी स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरमा उमेदवार बनाउने र बागमती प्रदेश सदस्यमा मनोनित गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।