
काठमाडौँ, २४ फागुन ।
‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’, भन्ने मूल नाराका साथ काठमाडौंमा राष्ट्रिय महिला आयोगको २०औँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ । कार्यक्रममा आयोगका सचिव कविराज पौडेलले आयोगले गर्दै आएका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आयोगको २०औँ स्थापना दिवसको अवसर पारेर ‘नेपालमा महिलाको अवस्था’ नामक पुस्तक प्रकाशनमा ल्याएको समेत जानकारी दिनुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालमा महिला अधिकार आन्दोलनको उपलब्धिका रुपमा महिला तथा मानव अधिकार सुनिश्चितताका लागि राष्ट्रिय महिला आयोग स्थापना भएको बताउनु भयो । महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित वा महिला अधिकार उपयोग गर्न नदिएको विषयमा छानबिन तथा अनुगमन गरी पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने कार्य अहिले आयोगले गरिरहेको अध्यक्ष पराजुलीले बताउनु भयो ।