
काठमाडौँ, २४ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै ओलीले एमालेको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको उल्लेख गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको धारणा राख्नुभएको छ । नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको सन्देशमा उल्लेख छ। एमाले मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको ओलीको दाबी छ। गत वर्ष सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्बन्धी कानूनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय वृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको शुभकामना सन्देशमा भनिएको छ।