
काठमाडौं,२४ फागुन ।
बागमती प्रदेश सरकारले आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने एसईई परीक्षाको तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक वर्षदेखि प्रदेश सरकारलाई केही जिम्मेवारी दिएसँगै तयारीलाई तीव्र बनाइएको हो ।
शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले एसईईका लागि उत्तर पुस्तिका छपाईको कामको सुरुआत गरिसकेको छ । चैत पहिलो हप्ताभित्र प्रदेशका १३ वटै जिल्लाका सदरमुकाममा उक्त उत्तर पुस्तिका पुगिसक्ने शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले बताउनुभयो ।
गत वर्षहरूमा बोर्डले नै सम्पूर्ण तयारी गर्ने गरेको थियो । बोर्डले प्रदेश सरकालाई परीक्षा सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने, प्रदेशभर परीक्षा केन्द्र निर्धारण, मापदण्ड विपरीत काम गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले कुनै पनि केन्द्रमा अनियमितता भएको पाएमा केन्द्र नै परिवर्तन गर्न सक्ने अधिकार प्राप्त गरेको छ । साथै बोर्डले प्रदेश सरकारलाई परीक्षार्थीको प्राप्ताङ्क रुजु गर्ने सम्मको अधिकार दिएको छ । उत्तर पुस्तिका परीक्षण गरेर प्रदेशलाई नै प्राप्ताङ्क रुजुका लागि पठाउने व्यवस्था रहेको निर्देशक दर्जीले बताउनुभयो । नतिजा प्रकाशनको लागि प्रमाणीकरणको काम मात्रै अब परीक्षा बोर्डले गर्नेछ ।