
काठमाडौं, २९ फागुन ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेश भएको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकमा महाभियोगका प्रस्तावक माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले महाभियोग प्रस्ताव पेश गर्नुभएको छ ।
महाभियोग प्रस्ताव पेश भएपछि संसद बैठक चैत २ गतेसम्मको लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको प्रस्तावमाथि आगामी बैठकमा छलफल हुने बताउनुभएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एसका ९८ जना सांसदले फागुन १ गते संसद सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए ।
यसअघि फागुन २२ गते बसेको प्रतिनिधि सभा बैठकले ११ सदस्यीय महाभियोग सिफारिश समिति गठन गरेको छ । महाभियोग सिफारिश समिति गठन भएको ३ महिनाभित्र महाभियोग टुंगो लगाउनु पर्ने संवैधानिक व्यवस्था छ ।