
काठमाडौं, ०१ चैत्र ।
दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद स्वदेश फर्किनुभएको छ । श्रीलङ्काबाट निजी विमानमा हिजो बेलुकी नेपाल आउनुभएका साउदी राजकुमार आज बङ्गलादेशको ढाकातर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालमा रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।
यसअघि साउदी कुमार र नेपालका समकक्षी डा। नारायण खड्काबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो । दुई परराष्ट्र मन्त्रीले सहयोगात्मक द्विपक्षीय सम्बन्धका विविध क्षेत्रका बारेमा छलफल गर्दै वैदेशिक रोजगारी, नेपाली आप्रवासी कामदारको हित, हजयात्रीको सङ्ख्या वृद्धि, सम्बन्ध सुदृढीकरणलगायत पारस्परिक लाभका क्षेत्रमा सहयोगका सम्भावनाहरू खोजिनुपर्नेमा जोड दिनुभएको थियो । आर्थिक साझेदारीका साथै बहुपक्षीय मञ्चहरूमा सहयोग आदानप्रदान गर्न उहाँहरूबीच सहमति भएको छ ।
साउदी राजकुमारले नेपाल भ्रमणमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट पनि गर्नुभयो ।