
भक्तपुर, १ चैत : रातभरी गाँडीको यात्रा गर्दै भक्तपुर आइपुग्नु भएकी ८० वर्षीया ठगियादेवी पासवान नेकपा एमाले पार्टी आज प्रवेश गरिन् । लठ्ठी टेकेर मञ्चमा चढेकी जेष्ठ नागरिक उनीमात्रै होइनन्, खाली खुट्टामा मञ्चमा चढेका ५८ वर्षीय सिमानन्द महतोदेखि काखमा दूधेँ बालक च्याप्दै आएकी ३४ वर्षीय कपुरी यादवसम्मलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टीका लगाएर खादा ओढाएर पार्टी प्रवेश गराउनु भयो ।
एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा संघ नेपाल, भक्तपुरको संयोजनमा आज भक्तपुरको थिमिस्थित राधेरोधमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले पाँच वटा गाडी चढेर मधेश प्रदेशबाट आएमा जनप्रतिनिधिदेखि स्थानीय युवा, महिला तथा जेष्ठ नागरिकलाई पार्टी प्रवेश गराउनु भएको थियो ।
कार्यक्रममा ओलीले पर्साबाट निर्वाचित जसपा तथा माओवादी केन्द्रका जनप्रतिनिधिलाई एमालेमा प्रवेश गराउनु भयो । उहाँले पोखरिया नगरपालिका–६ का वडाध्यक्ष सिमानन्द चौहानको नेतृत्वमा आएको ५५० जनाको समूहले एमाले प्रवेश गरेको हो ।
समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोदेखि ८० वर्षीया ठगिया देवी पासवानसम्मलाई टीका लगाइ, खादा लगाएर पार्टीमा प्रवेश गराउनु भयो । शुरुमा भोजपुरीमै सम्बोधन गर्नु भएको एमाले अध्यक्ष ओलीले पछि नेपालीमा बोल्दै मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र ब्यापारको माध्यमबाट बिकास गरिने बताउनु भयो ।
उहाँले कृषि, औधोगिकरण, पर्यटनका माध्यमबाट उत्पादन बृद्धि गरि आयात घटाएर निर्यात बढाउदै देशको अर्थतन्त्रलाई फाइदा पुर्याउन सक्ने गरि मधेश प्रदेशको बिकास गरिने उहाँको भनाइ थियो । मधेश प्रदेश बिकासमा पछाडि पर्नु नपर्ने भन्दै उहाँले पर्यटकीय दृष्टिकोणबाट समेत एकदमै राम्रो मधेश प्रदेशलाई सुनकोसी डाइभर्सन बनाएपछि यस क्षेत्रका सबै जमिनमा सिँचाइ पुग्ने बताउनु भयो ।
अध्यक्ष ओलीले वीरगञ्ज–काठमाडौं रेल चल्ने बताउदै धार्मिक पर्यटनको दृष्किोणले पनि यो प्रदेश उत्कृष्ट रहेको चर्चा गर्नुभयो । अध्यक्ष ओलीले मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको आरोप लगाउदै मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिब्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतले देशव्यापी रुपमा एमालेमा पार्टी प्रवेशको लहर आएको भन्दै देश विकास गर्ने पार्टी कुन हो जनताले मूल्यांकन गर्ने बेला आएको बताउनु भयो ।
पोखरियामै एमाले प्रवेश गर्ने कार्यक्रम गर्ने योजना भए पनि केपी ओली बसेकै ठाउँमा आएर भेट्ने चाहना राखे पछि युवा संघले भक्तपुरमा कार्यक्रमको संयोजन गरेको युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले बताउनु भयो ।