
काठमाडौं, ०३ चैत्र ।
काठमाडौंको कोटेश्वर स्थित दीपिका स्कुलले यहीँ चैत्र १ र २ गते शैक्षिक सत्र २०७८ को वार्षिक खेलकुद सप्ताह सञ्चालन गरेको छ। विद्यालयले आफ्ना विद्यार्थीहरूलाई फुटसल, बास्केटबल, टेबलटेनिस, चेस, ब्याटमिन्टन लगायतका विभिन्न २१ विधाका इनडोर र आउटडोर खेलमा सहभागी गराएको हो । दुई दिनसम्म सञ्चालन भएको उक्त खेलकुद सप्ताहका विजयी खेलाडीहरूलाई लगत्तै सञ्चालन गर्ने वार्षिक कार्यक्रममा अभिभावकहरू सामु पुरस्कार तथा मेडल वितरण गरिने विद्यालयले बताएको छ ।
कोभिड १९ सङ्क्रमण जोखिमका कारण यस वर्ष ढिला गरी शैक्षिक सत्र सुरू भएपनी विद्यालयले शैक्षिक सत्रको निर्धारित समयदेखी नै प्रभावकारी अनलाईन कक्षा सञ्चालन गर्न सकेकाले खेलकुद कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई पर्याप्त समय भएको विद्यालयका सहायक प्रिन्सिपल अञ्जन चालिसेले बताउनुभएको छ ।
पाठ्यक्रमले निर्दिष्ट गरेका सबै तहका सिकाई उपलब्धि हासिल गर्न सकिने अवस्था रहेको र विद्यार्थीहरूको सर्वाङ्गिन विकासका लागि खेलकुदको उत्तिकै महत्व हुने भएकोले शैक्षिक सत्रको लगभग अन्तिम समयमा आएर खेलकुद सप्ताहको आयोजना गरिएको साहायक प्रिन्सिपल चालिसेले रेडियो हिमालयनलाई जानकारी दिनुभयो ।
खेलकुद सप्ताह समापनका अवसरमा विद्यालयका सहायक प्रिन्सिपल अञ्जन चालिसेले खेल सप्ताह सफलतापूर्वक सम्पन्न भएको बताउदै कठिन समयमा समेत विद्यालयको नियमित तथा अतिरिक्त क्रियाकलापहरूलाई समयमै सम्पन्न गर्न अहोरात्र खटिने विद्यालयका कोअर्डिनेटर राजु रिमाल, माध्यमिक तह इन्चार्ज सरिता ढकाल, प्राथमिक तह इन्चार्ज दुर्गा निरौला लगायत सबै शिक्षक शिक्षिका, कर्मचारी तथा अभिभावकहरूलाई खेलकुद सप्ताह समापनका अवसरमा धन्यवाद समेत दिनुभएको छ । कार्यक्रमको अन्तिममा होली विशेष कार्यक्रम गरी शुभकामना आदानप्रदान गरिएको हो । यस्तै विद्यालयका सहायक प्रिन्सिपल चालिसेले उक्त खेलकुद कार्यक्रममा सहभागी तथा विजयी विद्यार्थिहरूलाई बधाई तथा उज्वल भविश्यको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
सरकारले तोकेको समयसीमा भित्रै यस वर्षको अन्तिम परीक्षा लिन पर्याप्त समय भएको र सबै तहका सबै विषयका कोर्सहरू पूरा भएको विद्यालयले जनाएको छ। विद्यालयले चैत्र अन्तिम सातादेखी अन्तिम परीक्षा सञ्चालन गरी बैशाख १५ गतेबाटै नयाँ शैक्षिक सत्रको भर्ना तथा कक्षा सञ्चालन गर्ने तयारी बिद्यालयले गरेको छ ।