
काठमाडौं, ०९ चैत्र ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पार्टीले चुनावी गठबन्धन गर्ने बताउनुभएको छ । कांग्रेस धुलिखेलको आयोजनामा पार्टी प्रवेश कार्यक्रममा उहाँँले सम्बन्धित तहको सुझावको आधारमा पार्टीले निर्णय लिने बताउनुभयो । स्थानीय तहमा गठबन्धनलाई लिएर पार्टीका नेताहरूबाट फरक फरक प्रतिक्रिया आइरहँदा नेता महतले यसको जिम्मा स्थानीय तहलाई नै दिनुपर्ने बताउनुभएको हो । अर्को प्रसंगमा उहाँले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे छरिएको भम्र चिरिएको भन्दै देश विकासको लागि कांग्रेसले सही अडान लिएको प्रमाणित भएको बताउनुभयो ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा सन्देह नरहेको भन्दै उहाँले कांग्रेसले सञ्चालन गरेको ‘घरघर जाऊँ, कांग्रेस जिताऔं’ अभियानले निर्वाचन जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रमा एमालेका प्रदेश कमिटी सदस्य रहेका पूर्वक्षेत्रीय अध्यक्ष रामकृष्ण हुमागाईँ, साविक काभ्रे नित्य चण्डेश्वरी गाविसका अध्यक्ष रहेका पूर्वजिल्ला कमिटी सदस्य साधुराम वडाल, गाविस उपाध्यक्ष विष्णु बस्नेत, माधवमणि हुमागाईँ, अर्जुन भुजेल लगायत १ सयभन्दा बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुभएको । प्रवक्ता महतले उनीहरूलाई सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको हो ।