
भक्तपुर, १९ चैत : चाँगुनारायण नगरपालिका–९ ताथलीको भिरालो जग्गामा चम्पा कुस्मा राईले गरेको अबैध जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर मृत्यु भएका दुई मजदुरको शव २४ घण्टापछि उठाइएको छ ।
जग्गा प्लटिङ गर्ने चम्पा कुस्माको पालर्वाहीका कारण भएको घट्नामा परी काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर जगाती बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई बनेपा बस्ने ३२ वर्षीय चतुरमान तामाङको हिजो अपरान्ह पाँच बजे ढिस्कोले पुरिदाँ मृत्यु भएको थियो । पीडितले क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै हिजोदेखि स्थानीय र पीडितका आफन्तले शव उठाउन नदिए पछि आज दिनभर घट्नास्थलमै शव रहेको थियो ।
आज दिउँसो वडा नं. ९ कार्यालयमा वडाध्यक्ष गणेश त्यातको नेतृत्वमा भएको दुई पक्षबीचको छलफल सहमतिमा पुगेपछि शव उठाएर परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनु भयो । प्रहरीले घट्नाबारे थप अनुसन्धान अगाडि बढाएको उहाँले बताउनु भयो ।
छलफल र सहमतिबारे जानकारी दिदै वडाध्यक्ष त्यातले दुई मृतक मजदुरका परिवारलाई जनही १५ लाखका दरले ३० लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएको जानकारी दिनु भयो । उहाँका अनुसार मृतककी पत्नी र बच्चाका लागि एक परिवारलाई १५ लाखको दरले क्षतिपूर्ती दिने र शव उठाउने सहमति भएको हो ।
प्रहरीले दुई मजदुरको मृत्यु हुँदा क्षतिपूर्तिबारे बेवास्ता गर्दै हिजै साँझ शव उठाउन खोजे पछि स्थानीय र पीडितका आफन्तले नाराबाजी गरेर अबरोध गरेपछि प्रहरीले २४ घण्टासम्म मृतकको शव उठाउन सकेछ । घट्नास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनासमेतको करिब १०० भन्दा बढी टोली खटाए पछि यहाँका बासिन्दा आक्रोसित बनेको स्थानीइ राजेन्द्र थापाले जानकारी दिनु भयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले घट्नाका पीडित पक्षको मागको सुनुवाई गर्न र अबस्थालाई सामान्य बनाउन भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी उपरीक्षक शिव श्रेष्ठलाई आग्रह गरेपछि छलफलको वातावरण बनेको बताउनु भयो ।
घटनाका प्रत्यक्षदर्शी काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ महादेवटारका ४६ वर्षीय गजबसिंह लामाले चम्पा कुस्माकै कारण यो दुर्घटना भएको बताउनु भयो । ढिस्कोमा आधा शरीर पुरेर बाँचेका उहाँले भन्नुभयो, “हिजो हामीले २० मिटर गहिरो खनेर पर्खाल लगाइसकेका थियौँ, चम्पा साहुनी आएर खनेको गहिरो पुगेन भनेर हामीलाई हप्काउदै आफैले भत्काउनु भयो, त्यहीँको ढुंगा निकालेर फेरि गहिरो खन्दा जग्गाकै ढिस्को आएर हामीलाई पुर्यो, म बाँच सफल भए, मामा र ज्वाईलाई बचाउन सकिँन ।”
स्थानीय राजेन्द्र थापाले शक्तिको आँडमा चम्पाले अबैध रुपमा जग्गा प्लटिङ गरेको, त्यहाँको सार्वजनिक जग्गा र कूलो समेत मासेर प्लटिङ भित्र हालेको र स्थानीयले बिरोध गर्दा उल्टै धम्क्याउने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “घट्ना घटे पछि पीडितलाई सान्त्वना दिने क्षतिपूर्ती दिनु पर्नेमा उल्टै आफ्नो पति प्रहरीमा एसपी छ भन्दै शक्तिको दुरुपयोग गर्दै हाम्रो गाउँमा सयौको संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेना ल्याएर आतंकित पार्ने काम भएपछि प्रहरी, प्रशासनको बिरुद्धमा नाराबाजी गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरेका हौँ, भीर, पाखा र डाँडा मासेर, भासेर अबैध प्लटिङ रोक्न नसक्ने जनप्रतिनिधि पनि यसको दोषी हुन् ।”