हामीसँग जोडिनुहोस

बिजुक्छेँद्धारा लिबालीस्थित कभर्ड हल उदघाटन

3 मिनेट

भक्तपुर, १९ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित कभर्ड हलको शनिबार बिहान एक समारोहबीच रिबन काटेर उदघाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि बिजुक्छेँले खेलकुद नियम संगत ढंगले खेलिने एक प्रकारको शारीरिक अभ्यास भएको बताउनुहुँदै युग सुहाउँदो खेलकुदको विकास वर्तमान आवश्यकता रहेको बताउनुभयो ।

व्यक्तित्व विकासमा सबैले समान ढंगले अवसर पाउनुपर्छ भन्दै उहाँले खेलकुद संस्कृतिकै एउटा भाग भएको र यो जीवनपद्धतिसँग जोडिएको विषय हो भन्नुभयो । नगरपालिका, सहकारी संस्थालगायत सम्बन्धित निकायहरुले ज्येष्ठ नागरिकहरुको लागि गरिने शारीरिक अभ्यास सञ्चालनबारे पनि ध्यान दिनुपर्ने बताउनुहुँदै उहाँले कृषि उत्पादन घट्दै जानु, विदेशबाट खाद्यान्न आयात वृद्धि हुँदै जाँदा देश आर्थिक संकटतर्फ धकेलिँदै गइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

भक्तपुर विगतमा खेलकुद पूर्वाधार र प्रशिक्षण अभावले गर्दा यहाँका जनता खेलकुद क्षेत्रमा पछाडि परेको स्मरण गर्नुहुँदै उहाँले भक्तपुर नपाले खेलकुद क्षेत्रको विकासमा गरिरहेको गतिविधिहरु प्रशंसनीय छ भन्नुभयो । साथै विकास निर्माणका गतिविधिमा भक्तपुर नपाले अपनाएको उपभोक्ता मोडलबाट देश विकासमा समेत टेवा पुगेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँ खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्छ भन्नुभयो ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको विकास निर्माणका गतिविधिमा उपभोक्ता मोडल सफल तुल्याउन यहाँका उपभोक्ताहरुको ठूलो योगदान रहेको बताउनुहुँदै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले नगरका २३ वटा ठाउँहरुमा खुल्ला व्यायामशाला स्थापना गरिसकेको बताउनुभयो । उहाँले सहिद स्मृति खेलमैदान र महेश्वरी खेलमैदानको स्तरोन्नतिको लागि आवश्यक पहलहरु भइरहेको बताउनुहुँदै व्यक्तिको शारीरिक र मानसिक विकासको निम्ति खेलकुदको अत्यन्त ठूलो भूमिका रहेको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले नगरबासी जनताको मानसिक र शारीरिक स्वास्थ्यको निम्ति भक्तपुर नगरपालिकाले प्राथमिकताका साथ खेलकुद क्षेत्रलाई अगाडि बढाउँदै आएको बताउनुहुँदै यस किसिमका गतिविधिहरुले नयाँ पुस्तालाई स्फूर्त राख्न र आत्मसम्मानका साथ बाँच्न हौसला मिल्ने बताउनुभयो । प्रदेश सरकारमा ब्याप्त विकृति विसंगतिबारे चर्चा गर्नुहुँदै सांसद सैंजुले सरकारले अर्थहीन भ्यु टावर निर्माणमा अरबौं रकम खर्च गरिरहेकोमा खेद प्रकट गर्नुभयो । सरकार जनताका आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने अवस्थामा पुगेको बताउनुहुँदै उहाँले भ्रष्ट ठेक्कापट्टाले गर्दा आज देश बर्बादितिर गइरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले कभर्ड हल निर्माणसँगै खेलाडीहरुमा उत्साह थपेको बताउनुहुँदै नवनिर्मित कभर्ड हलमा नगरस्तरीय र राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता समेत आयोजना भइसकेको जानकारी गराउनुभयो । वडाका गतिविधिहरुबारे अवगत गराउनुहुँदै वडाध्यक्ष खायमलीले भक्तपुर नपा वडा नं. ८ बाट पाँच वर्षको कार्यकालमा करिब ८३ वटा वडास्तरीय र नगरस्तरीय योजना सम्पन्न गरिसकेको र लिबाली क्षेत्रमा खानेपानी पाइपलाइन विस्तार गरी आलोपालो खानेपानी वितरण समेत हुँदै आइरहेको छ भन्नुभयो ।’

भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुर नपाले खेलकुद क्षेत्रमा भएको गतिविधिबाट सबैको ध्यान आकर्षित गर्न सफल भएको बताउनुहुँदै नपाले विभिन्न समयमा आयोजना गरेका अन्तर नगर र विद्यालयस्तरीय प्रतियोगिताले खेलाडीहरुलाई क्रियाशील तुल्याएको बताउनुभयो । उहाँले नवनिर्मित कर्भड हल नगरबासीहरुको स्वास्थ्य र राष्ट्रको निम्ति खेल्ने खेलाडीहरुको लागि अधिकत्तम उपयोग हुनु आवश्यक रहेको बताउनुभयो ।

लिबाली कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर बासीले हल निर्माणका गतिविधि र आय व्यय प्रस्तुत गर्दै कभर्ड हल निर्माणले भक्तपुरका सबै खेल विधाका खेलाडीहरु लाभान्वित हुने बताउनुभयो । उहाँले दुई चरणको उपभोक्ता समितिबाट निर्मित लिबालीको कभर्ड हल निर्माणको कूल लागत रु. १ करोड २ लाख ९७ हजार ९५ रुपैयाँ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, ९ वडाका वडाध्यक्ष रबिन्द्र ज्याख्व र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो ।

 

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।