
भक्तपुर, १९ चैत : बिस्का जात्राको अवसर पारेर ओस्ला नेपालले मध्यपुर थिमिमा छैटौं उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता आयोजना गर्ने भएको छ । ओस्ला नेपालले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले यहीँ चैत्त २६ गते उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने बताउनु भयो ।
प्रतियोगितामा उपत्यकाका ३५ देखि ४० वटा धिमे खलः तथा पुचः को सहभागीता रहने बताउदै उहाँले एउटा खलः तथा पुचःबाट बढीमा दुई वटा टोलीसम्मले प्रतियोगितामा भाग लिन पाउने व्यबस्था गरिएको बताउनु भयो । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागिता रहने प्रतियोगितामा प्रतिस्पर्धीलाई पाँच मिनेटको समय दिईने उहाँले बताउनु भयो ।
पाँच जनाको निर्णायक टोली रहने प्रतियोगितामा निर्णायक मण्डलले प्रस्तोताको अनुशासन, हाउभाउ, समयको परिपालना, भेषभुषा, प्रष्टता, बोल, ताल र लयको आधारमा उत्कृष्ट छनौट गर्ने तय गरेको छ ।
पत्रकार सम्मेलनमा ओस्ला नेपालका उपाध्यक्ष एवं संयोजक सुशिल जोशीले प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, दोस्रोलाई नगद १५ हजार र तेस्रोलाई नगद १० हजार सहित प्रथम, दोश्रो र तेश्रो हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र तथा दुई वटा टोलीलाई सान्त्वना पुरस्कार स्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताउनु भयो । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा ओस्लाका सचिव रोशन बज्राचार्यले प्रतियोगिताका साथै लोपोन्मुख अबस्थामा पुगेको हरेक जात्रा एवं पर्वमा बजाउनै पर्ने नायोखिं बाजा प्रशिक्षणसमेत सञ्चालन गर्ने भएको छ । प्रतियोगिता र बाजा प्रशिक्षणका लागि करिव ६ लाख २० हजार खर्च हुने अनुमान गरिएको र मध्यपुर थिमि नगरपालिकाले ३ लाख ५० हजार नगद सहयोग गर्ने भएको बताउनु भयो ।
प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको र मूल समिति अन्तर्गत सुशिल जोशीको संयोजकत्वमा कार्यक्रम समिति, प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयम्सेवक उपसमिति, खाना, खाजा तथा जलपान उपसमिति गठन गरिएको सचिव बज्राचार्यले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै यहाँको मूर्त तथा अमूर्ल कला, संस्कृतिको संरक्षण गर्ने, बाजाहरुको संरक्षण गर्ने कार्यलाई पनि निरन्तरता दिदै आएको बताउनु भयो । उहाँले उपत्यका नगरपालिका फोरमले यो वर्ष नभ्याए पनि अर्को वर्षबाट उपत्यकाका सबै नगरपालिकाको सहभागिता रहने गरि धिमेबाजा प्रतियोगिता गराउने तयारी गरेको बताउनु भयो ।
नायखिँ बाजा निश्चित एक जातीले मात्रै बजाउने परम्परा हुँदा बाजा र परम्परानै लोप हुने अबस्थामा पुगेको भन्दै उहाँले यो बाजा र परम्पराको संरक्षणका लागि अरु जाती र बिविधता ल्याएर बाजाको प्रशिक्षण गर्न लागको बताउनु भयो । अर्मूत कलाको सबै नाचहरुमा नबजाई नहुने मुहाली बाजा कपाली समुदायले बजाउन छाड्दना समस्या आएकाले यो बाजाको पनि संरक्षणमा नगरपालिका लागेको र प्रशिक्षणका कायृक्रम ल्याउन लागेको बताउनु भयो ।
उहाँले धेरै वर्ष अगाडि मध्यपुर थिमिमा बिस्केट जात्रामा ३२ खटको जात्रा मनाउने गरेकोमा खट बोक्न गाह्रो हुने र मान्छेको अभाव हुन थालेपछि दधिकोटको चरखण्डी, हिलचोक भैरब, दक्षिण बाराही, मध्यपुरथिमिको नगदेश, बोडे, निलबाराहीबाट बालकुमारी ल्याउने छाडे पछि धेरै वर्षदेखि ३२ खटको जात्रा एकै पटक हुन छाडेको भन्दै त्यसलाई कुनै पनि व्यबस्था गरि एकै पटक सबै ठाउँबाट बालकुमारीमा खट ल्याएर ३२ खटको जात्रा मनाउन आफूले पहल गरिरहेको बताउनु भयो ।
यसवर्ष जिब्रो छेड्ने जात्रा अवलोकन गर्न १०३ वर्ष उमेर पुगेका शताब्दीपुरुष सत्यमोहन जोशीलगायतका व्यक्तिलाई आमन्त्रण गरिएको भन्दै उहाँले जात्रा पर्व र परम्पराको संरक्षणका लागि आफू लागि परेको बताउनु भयो ।