
भक्तपुर, २४ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शीर झुक्न नदिने गरि काम गर्ने बताउनु भएको छ ।
औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले भक्तपुरमा आजबाट सुरु गरेको छैठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन गर्दै उहाँले आफू पदमा रहदाँ कुनै पनि बिचलन हुने काम भए तत्कालै पद छाड्ने बताउनु भयो । देशका गलत तत्वलाई तह लगाउँदै ठेगान लगाउन आफू मन्त्री भएर आएको बताउदै उहाँले कहि कतै त्यस्ता तत्व भए खबर गर्न आव्हान गर्नु भयो ।
विगतका प्रत्येक मन्त्रीले क्यासिनो सञ्चालकसँग करोड लिने गरेको आरोप लगाउँदै मन्त्री आलेले भन्नुभयो, “क्यासिनोको कर उठाउन मैले पटक पटक सूचना निकालेर ताकेता गरे, तर अटेर गरे, उनीहरु अटेसमटेस भएनन्, विगतका प्रत्येक मन्त्रीको गोजीमा एक÷दुई करोड हालिदिए पछि सबै चुप लाग्ने रैछन्, मलाई त्यस्तै सोचेर मन्त्रालयको ढोकासम्म आउने र मन्त्री भेट्नु पर्यो भने, मैले पहिला कर तिरेर मात्रै भेट्न आउनुस् भनेर पठाए, राज्यको कर नतिर्ने क्यासिनोबाट मैले एक अर्ब ५ करोड रुपैयाँ राजस्व उठाए ।”
भारत सरकारको २५ करोडको सहयोगमा १९ रोपनी जग्गामा बनेको भवनलाई केपी शर्मा ओली नेतृत्व सरकारले कौडीको मूल्यमा बतास समूहलाई दिएको संरचना फिर्ता गर्ने काम भएको बताउनु भयो ।
एमाले अध्यक्ष केपी ओलीले मन्त्री आफ्नो पार्टीलाई एक क्विन्टर र गठबन्धनलाई पाँच किलोको संज्ञा दिएकोमा आक्रोस व्यक्त गर्दै मन्त्री आलेले भन्नुभयो, “केपी ओलीले जुँगा हल्लाउदै आफ्नो पार्टीलाई एक क्विन्टलर र पाँच दलीय गठबन्धनलाई पाँच किलो भन्ने, तपाईहरु एक जुट भएर लाग्नुस्, बैशाख ३० गतेको चुनाबलाई एक क्विन्टललाई आधा किलोमा झार्दिनुस् ।”
भोलीदेखि आचारसंहिता लाग्ने भएकाले पाँच दलीय गठबन्धनको अबको बैठकले ७७ वटै जिल्लामा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सबै पदमा तालमेलको स्पष्ट खाकासहितको सहमति बन्ने बताउदै सोही सहमतिलाई सफल पार्न निर्वाचनका लागि गठबन्धन सक्रिय भएर लाग्न उहाँले आग्रह गर्नु भयो । दुई वर्ष कोरोनाले थलिएको व्यापार व्यबसायमा यस प्रकारको मेलाले धेरै राहत दिने भएकाले यस्ता मेला आवश्यक भएको उहाँको भनाइ थियो । त्यसअवसरमा वाग्मती प्रदेश सभाका सदस्य डा.राजेन्द्रमान श्रेष्ठले सत्ता गठबन्धनलाई संसदीय निर्वाचनसम्म नै लैजाने बताउदै गठबन्धनले एमाले तिरमिराएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले आउँदो चुनाबमा एमालेलाई सबै ठाउँबाट परास्त गरेर जवाफ दिने बताउनु भयो । त्यसअवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष डिपी ढकाल, नेकपा समाजवादीका जिल्ला अध्यक्ष श्यामसून्दर बस्नेतलगायतले सत्ता गठबन्धनलाई कसिलो बनाएर चुनावी अभियानमा लाग्ने बताउनु भयो ।
कार्यक्रममा आयोजक औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बैशाख ४ गतेसम्म आयोजना हुने मेलामा २०० वटा स्टल राखिएको र मेलामा एउटै छानामुनी बिभिन्न सामानहरु बिक्रीमा राखिएको बताउनु भयो । कोभिड–१९ का कारण दुई वर्ष मेला आयोजना हुन नसके पनि यस वर्ष भने मेला आगामी बैशाख ४ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने बताउनु भयो ।
नयाँवर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उदेश्यले बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गरेको बताउदै उहाँले भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा भएको मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्रीह औधोगिक उत्पादन, सूचना तथा बिज्ञान प्रबिधि, ग्रामिण प्रबिधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, साँस्कृतिक, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाँडाकुडाको प्रर्दशनी, एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा बिबिध प्रस्तुती रहने बताउनु भयो ।
कार्यक्रममा मेलाका संयोजक दीपक थापाले मेलामा राखिएका सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको बताउदै मेलामा करिब पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ भने करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको बताउनु भयो ।
मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य, नृत्य तथा गीत गायनको प्रस्तुती रहेको मध्यपुर ब्याइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिनु भयो । उहाँले नृत्य प्रतियोगितासमेत गरिने बताउनु भयो ।
मेलामा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दा यसबाट लाभ लिन सक्ने मेलाका आयोजकले बताएका छन् । मेलामा प्रवेशका लागि विद्यार्थीलाई रु. ४० र अन्यका लागि रु. ५० शुल्कको व्यबस्था गरिएको छ ।