
काठमाडौं,८ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै शक्ति मिलेर एमालेलाई घेराबन्दी गरी सिध्याउने प्रयास भएपनि त्यो सफल नहुने बताउनुभयो । बिहीबार एमालेको सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आफूहरूलाई सक्न खोजे पनि त्यो सफल नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले संसद विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिनुभयो । उहाँले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा रहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले आफूले नेतृत्व गरेको सरकार एमालेका तत्कालीन नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमका कारण ढलेको आरोप लगाउनुभयो ।
कांग्रेस पनि गठबन्धनसँगै सकिने बाटोमा लागेको भन्दै उहाँले भीरमा लड्न खोजिरहेका भैंसीको पुच्छर समातेर सँगै लड्ने बाटोमा रहेको टिप्पणी गर्नुभयो ।