
काठमाडौं, ११ वैशाख ।
नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि कन्सट्रक्सन होलिडे’ गर्ने भएको छ । मूल्यवृद्धि, भुक्तानी रोक्का र खरिद नियमावलीको ११औं संशोधनको त्रुटि सच्याउन दबाब दिँदै कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो ।
विगत केही महिना देखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमीन, पेट्रोल, ग्यास), फलामजन्य निर्माण सामाग्री (छड, ग्यावीन तार, पाता, आईरन ब्लेड) लगायत वस्तुको मूल्य बढेको छ । कोभिड–१९ महामारीका कारण र रुस–युक्रेन युद्धका कारणले निर्माण सामाग्रीको मूल्य बढेको हो ।
बढेको मूल्यमा निर्माणका काम अघि बढाउन नसक्ने व्यवसायीको भनाइ छ । त्यसैले, मूल्यवृद्धिको सम्बोधन नभएसम्म निर्माण व्यवसायीहरुले आर्थिकरुपले निर्माण काम संचालन गर्न नसक्ने नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ ।
२०६५ सालमा पनि यसैगरी निर्माण सामाग्रीको मूल्य अचाक्ली बढेको थियो । उक्त मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारले मूल्य समायोजन मार्गदर्शन १ जारी गरेर निर्माणका काम सुचारू गराएको थियो । यसपटक पनि सोहीअनुरूप गरिनुपर्ने महासंघको माग छ ।