
काठमाडौं, ०३ भाद्र ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहदुर कुँवरले कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिनु भएको छ । आज काठमाण्डौमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरुमा समानता हुनुपर्ने बताउनु भएको हो । अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुकातर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी समेत दिनु भयो । मन्त्री कुँवरले तीन वर्षअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेकाले त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरु समेटिनुपर्ने बताउनु भयो । समाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको तथ्याङ्क संकलन गरी अर्थ मन्त्रालयमा फाइल पठाइसकिएको पनि उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई मन्त्री कुँवरले त्यस फाइलबारे आवश्यक निर्देशन गरिदिन समेत आग्रह गर्नु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा बखत अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गरेको स्मरण गराउँदै आफू जहिले पनि मदजुरहरुको पक्षमा रहेकाले करार र ज्यालादारी कर्मचारीका उचित मागबारे सरकार र सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिनु भएको थियो ।