हामीसँग जोडिनुहोस

यस्तो छ, खप्तडको प्राकृतिक सुन्दरता (फोटो फिचर)

4 मिनेट

काठमाडौँ,२८ भदौ ।
सुदूरपश्चि प्रदेशका चार जिल्ला अछाम, बझाङ, डोटी र बाजुराको सङ्गमस्थलको रुपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । खप्तड क्षेत्र फराकिला पाटन, रङ्गीचङ्गी फूल र सुन्दर भू–बनोटमा अवस्थित छ ।

 

खप्तड क्षेत्र जैविक विविधता र धार्मिक आस्थाका हिसाबले महत्त्वपूर्ण गन्तव्य हो । खप्तड २२५ वर्ग किलोमिटरमा फैलिएको छ । यस क्षेत्रमा रहेका त्रिवेणी, खप्तडदह, सहस्रलिङ्ग, नागढुङ्गा, खापरमाण्डौलगायतका स्थानलाई हिन्दुका लागि पवित्र तीर्थस्थलका रुपमा लिइन्छ ।

यी ठाउँमा गङ्गा, दशहरा, जनैपूर्णिमा, भदौ शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) जस्ता धार्मिक पर्वमा मेला लाग्ने र पूजाआजा हुने गरेको छ । यस क्षेत्रमा हजारौंको सङ्ख्यामा तीर्थयात्री भेला भएर मेला भर्ने गर्दछन् । खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन् । बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो ।

 

हिउँद याममा हिउँमुनि लुक्ने खप्तड बसन्त ऋतुदेखि वर्षायाममा रङ्गिचङ्गी फूलको विशाल बगैंचा जस्तै देखिने गर्दछ । प्राकृतिक सौन्दर्य र धार्मिक तीर्थस्थलका रुपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । पौराणिक कालमा ऋषिमुनिले तपस्या गरेको पवित्र क्षेत्रका रुपमा समेत खप्तडलाई लिने गरिन्छ । स्कन्द पुराणमा खेचरादि पर्वतका नामले खप्तड क्षेत्रको वर्णन गरेको पाइन्छ ।

 

एकै पटकमा हेर्न नभ्याउने विशाल फाँट छन् । खप्तड प्राकृतिक सुन्दरताको मापन गर्दा स्वर्गको टुक्रा जस्तै हो । खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँट छन् ।

यस क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुञ्ज स्थापना गरिएको छ । निकुञ्ज भित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी किसिमका चरा पाइने गरेको बताइन्छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरसम्मको उचाइमा खप्तड छ । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । खप्तड यात्राका क्रममा आसपासका गाउँमा स्थानीय जीवनशैली र खानपानको आनन्द लिन सकिन्छ ।

खप्तड क्षेत्र खप्तडबाबा अर्थात् स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र भूमि हो । खप्तड बाबाले खप्तडमा करीब ५० वर्ष बिताउनु भएको थियो । खप्तडबाबा आध्यात्मिक गुरु र दार्शनिकका रुपमा चिनिनुहुन्छ । खप्तड क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रको रुपमा विकास गर्नुपर्नेमा धेरैको जोड छ । पछिल्लो समयमा खप्तड घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको छ ।

 

 

साभार

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।