
काठमाडौं, ३० भाद्र ।
सोमबारदेखि अजरबैजानसँगको सीमामा भएको झडपमा १ सय भन्दा बढी आर्मेनियाली सैनिकको मृत्यु भएको आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बताउनुभएको छ । अजरबैजानले यस लडाइँमा आफ्ना ५० सैनिक पनि मारिएको बताएको छ । आक्रमणको दोष दुबै पक्षले एक अर्कोलाई दिएका छन् । विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच लामो समयदेखि चलिरहेको द्वन्द्वको शृंखलामा यो पछिल्लो ठूलो हताहति हो । रुस र अमेरिकाले दुई देशबीच शान्ति कायम गर्न आह्वान गरेका छन् । आफ्नो देशको संसदमा बोल्दै आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले सोमबार रातिदेखि भएको आक्रमणमा१ सय ५ जना आर्मेनियाली सैनिकको मृत्यु भएको बताउनुभयो । आक्रमणमा अजरबैजान दोषी रहेको उहाँले बताउनुभयो । उहाँले अजेरी सेनाले यस हप्ता आर्मेनियाली क्षेत्रको १० वर्ग किलोमिटर (४ वर्ग माइल) कब्जा गरेको आरोप पनि लगाउनुभयो । सैन्य सहयोगको लागि आर्मेनियाको लामो समयको सहयोगी रुसतर्फ फर्किएको उहाँले बताउनुभयो । एजेन्सी ।