भक्तपुर, २ बैशाख ः हजारौ मानिसको भीड, भीडमा सबैको टाउँको अनुहार, शरीर सबै फुस्रो अबिरै अबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई बिराजमान गराईएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि जेष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउदै आज भव्य रुपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गन २६ देवीदेवता बिराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।
थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २६ खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् ।

यो जात्रामा आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ ।
थिमिमा ३२ देवीदेवतका खट सहभागि रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई केहीवर्ष यता सिन्दुर जात्रा पनि भन्न थालिएको छ । बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।
परम्परा अनुसार नै देवता लायकू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । खट जात्रा अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरि क्रमैसंग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराईन्छ । बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । बिहानै सुरु भएको यो जात्रा मध्यान्हसम्म चल्नेछ भने त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेड्र जात्रा मनाउने गरिन्छ ।