भक्तपुर, ९ बैशाख : सटर निर्माण गरि भाडामा दिन भक्तपुर नगरपालिकाले भक्तपुरको अस्पतालको पर्खाल भत्काउन नगर प्रहरीसहितको टोली आएपछि आज दिनभर भक्तपुर अस्पताल तनाबपूर्ण भएको छ । विरामीको स्वास्थ्य परीक्षणदेखि औषधि वितरण गर्दै आएका अस्पतालका चिकित्सकदेखि कर्मचारीसमेत अस्पतालको कम्पाउण्ड वाल (पर्खाल) जोगाउन आन्दोलनमा उत्रिए पछि स्वास्थ्य परीक्षणदेखि औषधि वितरणसम्मको सेवा प्रभावित भएको छ ।
१२२ वर्ष पुरानो भक्तपर अस्पतालकोे पर्खाल भत्काएर सटल निर्माण गरि साझा स्वास्थ्य सेवालाई फार्मेसी सञ्चालनका लागि भाडामा दिन साझाका कर्मचारीहरू र नगर प्रहरीको टोली आएपछि अस्पतालका चिकित्सकदेखि कर्मचारीसमेतले पर्खाल भत्काउनबाट रोक्न आन्दोलनमा उत्रिएका थिए । पर्खाल भत्काएर नगरपालिकाले अस्पताल क्षेत्र कब्जामा लिन खोजेको भन्दै अस्पतालका चिकित्सक एवं कर्मचारीले ‘अस्पताल शान्ति क्षेत्र हो’, ‘अस्पताल मास्न पाइँदैन’, ‘सिटी स्क्यान कि व्यापार चाहिन्छ ?’, ‘हामीलाई सेवा गर्र्न दे’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर पर्खालमा उभिएर बिरोध गरेका थिए ।

साझा स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीहरू फार्मेसी पुनः सञ्चालन गर्न आज नगर प्रहरीको सहयोगमा भक्तपुर अस्पतालको गेट नजिक अस्थायी टहरा बनाउन खोजेका थिए । अस्पतालको पर्खाल भत्काएर फार्मेसी सञ्चालन गर्ने प्रयासमा साझा आफै जुटेपछि अस्पताल प्रशासन र चिकित्सक–कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले ३०० शय्याको अस्पतालको रुपमा विकास भएको भक्तपुर अस्पताल ठाउँ अभावमा निकै कठिनका साथ दैनिक एक हजारभन्दा बढी विरामीलाई सेवा दिदै आएको बताउदै अलिकति जग्गामा पनि नगरपालिकाले सटर हालेर भाडामा दिन लागेपछि अस्पतालका चिकित्सकदेखि कर्मचारी आन्दोलनमा उत्रिएको बताउनुभयो ।

भक्तपुर अस्पतालका लागि बनेको भवनमा शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, नेपाल रेडक्रस सोसाईटीदेखि भक्तपुर क्यान्सर अस्पतालसमेत सञ्चालन भइरहेको भन्दै उहाँले अस्पतालको आफ्नै फार्मेसी हुँदाहुदै साझा ल्याउन सरकारी नियमले पनि नदिने बताउनुभयो । अस्पतालले सञ्चालनको तयारी गरेको सिटी स्क्यान मेशिन रहेको एकतले भवनमै जोडेर नगरपालिकाले साझाका लागि सटर निर्माण गर्न लाग्दा सिटीस्क्यानको भवनलाई समेत असर पर्ने उहाँले बताउनुभयो ।
नगरपालिकाले अस्पतालको पर्खाल भत्काएर साझालाई ब्यापार गर्न दिने गरि जबरजस्ती गरे अस्पतालले आफ्ना सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने आन्दोलनरत कर्मचारीको भनाइ छ । अस्पतालले साझालाई आफ्नै ख्वप अस्पतालमा लगेर सञ्चालन गर्न समेत सुझाब दिएका छन् । ठाउँ अभाब भइरहदाँ आफ्नै नगर भित्र रहेको भक्तपुर अस्पतालको थप भवन बनाउन नगरपालिकाले सहयोग गर्नुपर्नेमा उल्टै पर्खाल भत्काएर सटर भाडामा लाउन खोज्नु मानवताहिन कार्य भएको चिकित्सकहरुको भनाई छ ।
अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले वि.सं. २०३५ सालमै तत्कालिन नगर पञ्चायतले उक्त जग्गा भक्तपुर अस्पताललाई हस्तान्तरण गरिसकेको बताउदै हस्तान्तरणको पत्र र हस्तान्तरण भएको गोरखापत्रमा छापिएको तत्कालिन समाचार सुरक्षित रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पतालले चर्चेको तीन रोपनी भन्दा बढी क्षेत्रफल आफ्नो नगरपालिकाको भएको बताउदै अस्पताल हाता भित्र सिटीस्क्यान, आईसियूलगायतको संरचना रहेको सार्वजनिक जग्गा कानून अनुसारनै नगरपालिकाको भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले यसअघि पनि शौचालय निर्माण गर्दा अस्पतालले अबरोध गरेपनि बनाएको भन्दै अहिले पनि पर्खाल भत्काएर करिब आठ फिटको क्षेत्रफलमा साझालाई औषधि पसल सञ्चालनका लागि दिन लागेको बताउनुभयो ।
अस्पताल प्रशासनले बाहिरका निजी औषधि पसल र क्लिनिकसंगको मिलेमतो गरेर साझा राख्न नदिने गरि बिरोध गरेको भन्दै नगर प्रमुख प्रजापतिले छलफल र सहमतिबाटै पर्खाल भत्काएर साझालाई औषधि पसल सञ्चालनका लागि दिने पहल गरिने बताउनुभयो । साझाका कर्मचारी दीपक दाहालले भने २०५५ सालमा भक्तपुर अस्पताल परिसरमा स्थापना भएको साझा फार्मेसी पछिल्लो समय बन्द भएको बताउदै २०८१ साल फागुन ११ गते भक्तपुर नगरपालिका र साझा स्वास्थ्य सेवाबीच पाँच वर्षका लागि सम्झौता गर्दै मासिक ३० हजार नगरपालिकालाई बुझाउने गरि त्यस स्थानमा औषधि पसल राख्ने सहमति भएको जानकारी दिनुभयो ।