
९ भाद्र २०७६ । स्पेनको पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेका छन् । दुर्घटनामा दुई बालबालिकासहित सातको मृत्यु भएको छ । दुरघटना इन्का सहरको केन्द्रभागको आकाशमा भएको थियो । क्षेत्रीय बलेरिक सरकारले ट्वीटरमार्फत यसको जानकारी दिएको छ । ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । दुरघटनामा ती सबैको ज्यान गएको छ ।
स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका थिए । हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन । पीडितको राष्ट्रियबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छ । मल्लोर्का र अन्य बलेरिया टापुहरु पर्यटकीय गन्तव्य हुन् । ती क्षेत्रमा विशेषत गर्मी महिनामा स्पेनभित्रै र विदेशबाट ठूलो संख्यामा पर्यटकको आउने गर्छन् ।