
१९ भाद्र २०७६ । भारतीय सञ्चारमाध्यममा अहिले रानु मोन्डलको चर्चा कुनै चर्चित सेलेब्रेटीको भन्दा कम छैन । उनले के गरिन, कोसँग भेटिन् देखि अरू कलाकारले उनका बारेमा के भनिरहेका छन् भन्ने चासोले सञ्चारमाध्यममा स्थान पाएका छन् । रानुको चर्चा नहोस् पनि कसरी, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाउँदै भिक मागेर गुजारा चलाउने रानु रातारात सेलेब्रेटी बनेकी छन् । उनले ‘एक प्यारका नग्मा है’ गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी टिभी र सञ्चारमाध्यममा छाएकी हुन् ।
गायक तथा संगीतकार हिमेश रेशमियाले रानुलाई आफ्नो फिल्ममा गाउने अवसर दिए। उनले अहिलेसम्म पाँच–छ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन्। बाटामा मागेर गुजारा गर्दै आएकी ६० वर्षीया रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ भन्दै प्रशंसकहरूले खुबै सरहाना गरेका छन् ।
यही विषयमा भारतकी ‘लेजेन्ड’ गायिका लता मंगेशकरले दिएको प्रतिक्रियामा भने धेरैले असन्तुष्टि जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार लता मंगेशकरलाई उनकै गीत गाएर चर्चा कमाएकी रानुका बारेमा सोधिएको थियो।
यसबारे लता मंगेशकरको भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ– यदि मेरो नाम र कामबाट कसैलाई राम्रो हुन्छ भने म आफूलाई भाग्यमानी ठान्छु। तर मलाई यो पनि लाग्छ, सफलताका निम्ति नक्कल गरेको काम भरपर्दो र दिगो हुँदैन। किशोरदा (कुमार) वा रफी साब (मोहम्मद रफी) वा आशा (भोस्ले) वा अरू कसैका गीत गाएर सम्भावना भएका र नयाँ गायकहरूले आफूतिर ध्यान बटुल्न सक्छन्। तर त्यो छोटो हुन्छ। यो सफलता लामो समय रहँदैन।
९० वर्षीया लता मंगेशकरले टिभीमा आउने सांगीतिक प्रतियोगिताहरूबारे पनि चिन्ता व्यक्त गरेकी थिइन्।
‘धेरै बच्चाहरू मेरो गीत एकदमै राम्ररी गाइरहेका देखिन्छन्, तर तीमध्ये कतिले सफलता हासिल गरे खै? सफल हुनेमा मैले चिनेका त सुनिधी चौहान र श्रेया घोषाल मात्र हुन्।’
लताले नयाँ र सम्भावना भएका गायकहरूलाई सुझाव दिँदै भनेकी छन्, ‘मौलिक हुनुहोस्। म र मेरा साथीहरूले गाएका गीतहरू गाउनुहोस्, तर कुनै एक विन्दुमा पुगेपछि हरेक गायकले आफ्नो मौलिक गीतमै आफूलाई चिनाउन सक्नुपर्छ।’