
भक्तपुर, २० असार । बिभिन्न अपराधमा संलग्न रहेको आरोपमा भक्तपुरबाट दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राऊ गरेको छ । प्रहरीले भक्तपुरको दरवार स्क्वायरस्थित स्वीट होमबाट पाकिस्तान इस्लामावाद बस्नेहरु ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खानलाई आज पक्राऊ गरेको प्रहरीले जानकारी दिएको हो ।
ललितपुर निवासी राजेन्द्र श्रेष्ठले संचालन गरेको काठमाडौं महानगरपालिका २३ झोँछेस्थित डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर ९ सय, साउदी रियाल ३ हजार र चिनियाँ युआन १ हजार ४ सय चोरी फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको माहाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो ।
उनीहरुले उक्त मनि एक्सचेन्जमा ५ सय साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना गरी भ्रममा पारी उक्त विदेशी मुद्रा चोरी गरेको अभियोगमा अनुसन्धान सुरु गरेको छ ।
यसअघि उनीहरुले २०७६ वैशाख २९ गते भक्तपुर सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आरके ईलेक्ट्रिक एण्ड ईलेक्ट्रनोनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ, भक्तपुर ठिमी लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राईजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको घटनामा गतवैशाख ३१ गते पक्राउ परी जनही ५०–५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।