
श्रावण २५ । हङकङमा मुख्यालय रहेको वायुसेवा क्याथी प्यासिफिकका केही कर्मचारीले शहरमा लामो समयदेखि जारी विरोधमा समर्थन गरेको देखिएपछि चीनले तिनलाई बर्खास्त गर्न निर्देशन दिएको छ ।
बेइजिङको निर्देशनको अतिरिक्त चिनियाँ समाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘क्याथी प्यासिफिक बहिष्कार गरौँ’ भाइरल भइरहेको छ । योसँगै क्याथी प्यासिफिकका सञ्चालक दबाबमा परेका छन् ।
यही हप्ता, क्याथी वायुसेवाका ‘फ्लाइट एटेडेन्ट’ सम्मिलित ट्रेड युनियनले प्रर्दशनकारीको मागप्रति एक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेको थियो ।
नौ हप्ता अघि हङकङ र चीनबीच सुपुरदगी सहजीकरण गर्न ल्याइएको एउटा विधयकले सुरु गराएको प्रदर्शन अहिले पनि जारी छ । हाल प्रदर्शनकारीहरुले हङकङमा थप प्रजातन्त्रको माग उठाइरहेका छन् ।
सन् १९९७ मा पूर्व–औपनिशिक राष्ट्र ब्रिटेनले चीनलाई हस्तान्तरण गरेदेखि हङकङमा ‘एक देश, दुई प्रणाली’ लागु छ । यस व्यवस्थापन अन्तर्गत हङकङलाई चीनको अन्य भूभागमा भन्दा बढी स्व–शासनको अधिकार छ ।
प्रदर्शनकारीहरुले ‘एक देश, दुई प्रणाली’ अन्तर्गत विगतमा हङकङले अभ्यास गर्दै आएको खुल्ला प्रेस र न्यायिक स्वतन्त्रतामाथि आघात पुग्न थालेको आरोप लगाएका छन् ।
बेइजिङले यही हप्ताको प्रारम्भमा हङकङका प्रदर्शनकारीलाई ‘केन्द्र सरकारको संयमतालाई कमजोरी नठान्न’ चेतावनी दिएको थियो ।
अहिले, प्रदर्शनकारी हङकङका विमानस्थलहरुमा तीन दिने शान्तिपूर्ण धर्ना गरिरहेका छन् । धर्नामा बसेका प्रदर्शनकारीले हङकङ प्रशासक क्यारी ल्याम, सहरका प्रहरीको आलोचना गरिएका प्लेकार्ड र पर्चा बाँडिएका छन् ।
प्रदर्शन शान्तिपूर्ण रहेको र यात्रुहरुलाई त्यति धेरै असर नगरेकाले हालसम्म प्रशासनले बल प्रयोग गर्ने संकेत गरेको छैन । त्यही कारण प्रदर्शनकारी धर्ना बसेको स्थान वरपरसमेत प्रहरीको उपस्थिति देखिँदैन ।
‘अर्थतन्त्र ध्वस्त पार्न चाहने अल्पसङ्ख्यक’
सहरमा जारी तनावपूर्ण अवस्थाबारे छलफल गर्न सहरकी प्रशासक क्यारी ल्यामले शुक्रबार प्रमुख व्यवसायीसँग भेटघाट आयोजना गरिन् ।
व्यवसायी सम्बोधन गर्ने क्रममा ल्यामले भनिन्, ‘विगतमा हामीले सार्स भोग्यौँ । आर्थिक संकट भोग्यौं । यो पटक त्यो भन्दा पनि जोखिमपूर्ण अवस्था छ ।’ सार्स सन् २००३ मा फैलिएको श्वासप्रश्वास प्रणालीसम्बन्धी महामारी हो ।
सहरका घरजग्गा व्यवसायीको पहिले नै प्रदर्शन लम्बिँदै गर्दा हङकङको अर्थतन्त्रमा असर पर्ने चेतावनी दिएका छन् ।
सम्बोधनमा ल्यामले प्रदर्शनकारीको पनि आलोचना गर्दै तिनलाई सहरको अर्थतन्त्र ध्वस्त पार्न चाहने ‘अल्पसंख्यक’ भएको आरोप लगाइन् ।
‘हङकङ सरकारसँग असन्तुष्ट हुँदैमा हिंसामा उत्रनुपर्छ पर्छ र ?,’ उनले भनिन् ।
हङकङको प्रदर्शन लम्बिदै गर्दा चीनले कडा बयान दिन थालेको छ । त्यस्तै हङकङ प्रशासनले प्रदर्शनकारीलाई सम्हाल्नको लागि रिटायर भइसकेका सहायक प्रहरी कमिश्नर एलान लाउलाई सेवामा फिर्ता गरेको छ ।
एलान यस अघि हङकङमा भएको सन् २०१४ को ठूलो प्रदर्शनको बेला प्रहरी कमाण्डर थिए ।