
२२ भाद्र २०७६ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ । खेल पी सारा स्टेडियम कोलोम्बोमा बिहान १०ः१५ बजेपछि सुरु हुनेछ ।
पहिलो खेलमा श्रीलंकासँग डीएल पद्धतिमा ५ विकेटले पराजित भएको नेपाल बंगलादेशलाई पराजित गदै एसिया कपमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न बंगलादेशलाई पराजित गर्नुपर्ने हुन्छ । यसबाहेक समूहको अन्तिम खेलमा पनि यूएईलाई पराजित गर्नुपर्ने दबाब छ । पराजित भए नेपालको यात्रा समूह चरणमै सकिनेछ । बंगलादेशले नेपाललाई पराजित गरे सेमिफाइनलमा स्थान बनाउनेछ । श्रीलंकाविरुद्धको खेलमा ऋत गौतम र कप्तान रोहितकुमार पौडेलले सन्तोषजनक प्रदर्शन गरे पनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पराजित हुन पुगेको थियो ।