वासिङ्टन । टेक्सस् र ओहायोमा २९ जनाको ज्यान जानेगरी गोलीकाण्डहरू भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घृणालाई आफ्नो देशमा कुनै स्थान नभएको बताउनुभएको छ । यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्ने विषयमा ट्रम्पले महान्यायाधिवक्ता, गुप्तचर निकाय एफबीआई र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको बताउनुभएको छ ।
त्यसबारे उहाँले सोमवार आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा बताउने योजना बनाएका छन् । ट्रम्पले भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नु पर्ने बताउनुभयो ।
उहाँले संवाददाताहरूसँग भन्नुभयो, ’हाम्रो देशमा हिंसालाई कुनै स्थान छैन। हामीले यसलाई रोक्नका लागि आवश्यक काम गर्नेछौँ। यस्ता घटना वर्षौँदेखि भइरहेका छन्। अब हामीले यसलाई रोक्नैपर्छ।’ उहाँले अल पासो र डेटनमा भएका घटना ’मानसिक रोगको समस्याका कारण’ भएको बताउनुभयो ।