
भक्तपुर, १७ भदौ । भक्तपुर नगरपालिका अनुगमन समितिले बिभिन्न ठाउँमा संचालन भएको डेरी तथा दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगहरुमा अनुगमन गरेको छ ।
समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको अनुगमनमा कालिका डेरी कम्पनीद्धारा उत्पादित दुधहरुमा आयतन २० मिलिमिटर र तौलमा २० ग्रामसम्म नपुग भएको पाईएकाले तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको अनुगमनका निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
त्यस्तै लक्ष्मी दही भण्डारमा सोडा हालेको दुध प्रयोग गरेको, दुधमा फ्याट हेरेको रेर्कड नराखेको, दर्ता नविकरण नगरेको पाईएपछि नियमानुसार सबै कार्य दुरुस्त राख्न निर्देशन दिएको छ । त्यस्तै सैंजू डेरी र सैंजू दही उद्योगमा पनि अनुगमन गरेको थियो ।
अनुगमनमा संजिबनी डेरीमा उद्योग दर्ता नविकरण नगरेको, सरसफाईमा ध्यान नदिएको, एप्रोन, हेयर नेट, माक्स र पञ्जा सबैले प्रयोग नगरेको पाईएपछि ती सबै कार्य व्यबस्थित गर्न निर्देशन दिएको छ ।
यता गणेशमान दही पसलमा सरसफाईमा ध्यान दिनु पर्ने, पसल दर्ता नबिकरण गर्नु पर्ने र लेबल राख्नु पर्ने, फेमस जुजु धौ पसल दर्ता गरि दर्ता प्रमाण पत्र पसलमा राख्न, सरसफाईमा ध्यान दिन, विक्रम जुजु धौ पसलमा दही उत्पादन उद्योग दर्ता गर्न, सरसफाईमा ध्यान दिन, दहीमा लेबल राख्न, कामदारहरुले एप्रोन प्रयोग गर्न निर्देशन दिएको छ ।
त्यस्तै भक्तपुर दही पसल तीन दिन भित्र दर्ता गर्न, सरसफाईमा ध्यान दिन, दही जमाउने स्थानमा रहेको भुस फोहोरभएकाले नयाँ भुस राख्न, दही उत्पादन गर्ने स्थानमा पानी जम्न नदिन र पसलमा सरसफाई गर्न निर्देशन दिएको छ ।